झापाका चिया बगानमा प्रतिबन्धित विषादी

बिर्तामोड : झापाका चिया बगानले नेपालमा प्रतिबन्धित घातक विषादीको प्रयोग गरेको पाइएको छ। चिया बगानमा विभिन्न रोग र संक्रमण घटाउने बहानामा मानव स्वास्थ्यका दृष्टिले निकै घातक मानिएका विषादीहरू खुलेआम प्रयोग हुँदै आएको छ।

विश्व स्वास्थ्य संगठनले सन् २००४ मा मानव स्वास्थ्यका लागि हानीकारक मानिने इथियन, मोनोक्रोटोफस, सुफोसजस्ता विषादीमा प्रतिबन्ध लगाए पनि बगानमा प्रयोग हुने गरेको छ। सरकारले यस्ता विषादीको प्रयोगमा रोक लगाए पनि खुला नाका र अवैध बाटोबाट भित्रिने र तिनै विषादीको प्रयोग बगान सञ्चालक र किसानले गर्ने गरेका छन्। सरकारले मोनोक्रोटोफस, इन्डोसल्फान, बीजीडी, अल्जिम, लिन्डेनजस्ता १५ प्रकारका घातक विषादी बिक्रीमा प्रतिबन्ध लगाइसकेको छ।

‘यी विषादी मानव स्वास्थ्यका लागि घातक मानिन्छन्’, विषादीविरुद्धको अभियानमा सक्रिय चन्द्र भण्डारीले भने, ‘झापामा एक बिघा चिया बगानमा ५० लिटरभन्दा बढी विषादी प्रयोग भइरहेको छ।’ उनका अनुसार झापाका चिया बगानमा नेपालमा प्रतिबन्धित इमिडा क्लोरोपिड, इमामेक्टिम, बेन्जोइड, स्पाइरोमेसिफिन, एसिटामापिडलगायत दर्जनौं विषादी प्रयोग भइरहेको छ। सचेतनामूलक कार्यक्रम गरेर त्यस्ता विषादीको प्रयोग घटाउन चिया बगान सञ्चालकसँग छलफल र अन्तक्र्रिया गरे पनि चासो नदिएको उनको भनाइ छ।

भण्डारीका अनुसार खुला सिमानाले चिया बगानमा विषादीको प्रयोग झापामा बढी भएको मानिन्छ । झापापछि काभ्रे, चितवन, सप्तरी र सिराहामा विषादीको प्रयोग अधिक मात्रामा पाइएको जानकारी उनले दिए। ‘झापामा चियाबालीमा सबैभन्दा बढी विषादी प्रयोग भइरहेको छ। यी विषादी स्वास्थ्यका दृष्टिकोणले ज्यादै घातक मानिन्छन्’, उनले भने, ‘विषादीका कारण चिया बगान आसपासका गाउँ र नगरबासी पनि उच्च जोखिममा छन् ।’

२५ वर्षयता बढिरहेको विषादीको प्रयोग झापाको चिया खेतीमामात्रै बर्सेनि न्यूनतम २५ पटकसम्म हुन्छ।

झापाको बर्ने, टोकला, गिरी बन्धुजस्ता चिया बगानमा मात्र वर्षमा एक लाख ६८ हजार टन विषादी प्रयोग भइरहेको तथ्यांक छ । मजदुरले सुरक्षात्मक उपायबिनै विषादी प्रयोग गरिरहेका छन्। ‘रासायनिक विषादीले मजदुर बढी प्रभावित छन्’, भण्डारीले भने, ‘वरपर दुई किलोमिटर दूरीका बस्ने पनि विषादीबाट प्रभावित भएको भेटिएको छ।’ पछिल्लो समय झार मार्ने राउन्डर नामक विषादीको प्रयोग झनै बढी छ। चिया बगान र अन्य खेतीमा झार मार्न यसको प्रयोग बढी हुने गरेको छ।

कानुन कार्यान्वयन गर्ने निकाय विषादी प्रयोगमा रोक लगाउने सम्बन्धमा लाचार देखिएको विषादी न्यूनीकरणका अर्का अभियन्ता दिपेन्द्र पौडेल बताउँछन्। २५ वर्षयता झापामा विषादीको प्रयोग भइरहेको उनी बताउँछन्। झापाको चिया खेतीमा मात्रै बर्सेनि न्यूनतम २५ पटकसम्म विषादी छिट्ने चलन रहेको कृषि ज्ञान केन्द्र झापाको तथ्यांकमा उल्लेख छ। चियामा बढ्दो विषादीको प्रयोगले भारतसहित अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको छबिसमेत बिग्रन थालेको पौडेलले बताए। अघिल्लो वर्षमात्र भारतले नेपालको चियामा विषादीको मात्रा बढी भएको भन्दै केही समय निर्यातमा कडाइ गरेको थियो।

यही मात्रामा विषादीको प्रयोग गरिरहने हो भने नेपाली चिया निर्यातमा समस्या पैदा हुने दाबी मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालको छ। विषादी ऐन २०४८ र नियमावली २०५० मा विषादी बिक्री वितरण गर्नेलाई जरिवानासहित दण्ड गर्ने व्यवस्था छ । तर, यसअघिको कृषि विकास कार्यालय र अहिलेको कृषि ज्ञान केन्द्रसँग चियामा विषादी प्रयोग गर्ने कसैलाई कारबाही भएको छैन। विषादी बेच्नेलाई न्यूनतम एक हजार र अधिकतम पाँच हजार जरिवाना र सामान जफत हुने कानुनी व्यवस्था छ।

स्रोत अन्नपूर्ण