नेपालमा कफी लगानी सम्मेलन हुने
नेपालमा कफी लगानी सम्मेलन हुने
काठमाडौं : नेपालमा कफी लगानी सम्मेलन हुने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सम्मेलन गर्न लागेको हो। कफीखेतीतर्फ निजी क्षेत्रलाई आकर्षित गर्ने उद्देश्यले आगामी मार्चमा सम्मेलन गर्न लागिएको बोर्डले जनाएको छ।
बोर्डले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक दिपक खनालले अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग उच्च भए पनि उत्पादन क्षमता बढाउन नसकिएकाले क्षमता विस्तार गर्न लगानी सम्मेलनको आयोजना गरिएको हो। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा आठ हजार मेट्रिक टन नेपाली कफीको माग छ। तर, नेपालको उत्पादन कुल पाँच सय १३ मेट्रिक टन मात्रै छ। ‘अहिले कफी फार्मिङमा साना किसान मात्रै संलग्न छन्, यसले गर्दा व्यावसायिक खेती हुन सकेन, व्यवसायिक रुपमाखेती नहुँदा मागअनुसार उत्पादन लिन सकिएन्’, खनालले भने।
नेसनल कफी एकेडेमीका अध्यक्ष डा.राजकुमार बन्जाराले विदेशमा जस्तो कफी खानैपर्ने कफी संस्कृतिको विकासका लागि र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने जानकारी दिए। नेपालमा ९० हजार मेट्रिक टन कफी उत्पादन हुने सम्भावना रहेको बन्जाराले बताए। हाल नेपालको दुई हजार ६ सय ५० हेक्टरमा कफीखेती हुँदै आएको छ।
यसैबीच नेपालमै पहिलोपटक कफी क्यू ग्रेडिङ तालिम सञ्चालन हुने भएको छ। नेशनल कफी एकेडेमीले फागुन ७ गतेदेखि एकसाता लामो अन्तर्राष्ट्रियस्तरको कफी क्यू ग्रेडिङ तालिम सञ्चालन गर्न लागेको हो। त्यस्तै माघ २९ गतेदेखि फागुन ३ गतेसम्म कफीसँग सम्वन्धित ब्रुइङ फाउन्डेसन र इन्टरमिडिएट तालिम पनि सञ्चालन हुने आयोजकले जनाएको छ।
स्रोत अन्नपूर्ण