३० औँ राष्ट्रिय चिया दिवस प्रेस रिलिज
३० औँ राष्ट्रिय चिया दिवस, २०८३, बैशाख १५
पत्रकार मित्रहरू,
भोलि मिति २०८२ बैशाख १५ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा “स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार!” मूल नाराका साथ ३० औँ राष्ट्रिय चिया दिवस मनाउने कार्यक्रम रहेको छ । यस वर्षको चिया दिवसको औपचारिक कार्यक्रम सूर्योदय नगरपालिका, फिक्कल, इलाममा सञ्चालन हुनेछ । कार्यक्रमको प्रमुख आकर्षणको रुपमा विभिन्न ७ वटा विधामा उत्कृष्ट चिया कृषक, उद्योग तथा सहकारीहरूलाई सम्मान गरिनेछ भने टि च्याम्पियन प्रतियोगिताका विभिन्न ५ वटा विधाका उत्कृष्ट चिया उत्पादकलाई पुरस्कृत गरिनेछ । उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमको रिपोर्टिङ गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
पत्रकार मित्रहरू,
वि.सं.१९२० मा इलामका तत्कालिन बडाहाकिम कर्णेल गजराज सिंह थापाले इलाममा चिया कमान स्थापना गरी सुरु भएको नेपाली चिया खेतीको इतिहास आजका दिनमा आउँदासम्म विभिन्न आरोहअबरोहहरूको सामना गर्नुपर्र्यो । बोर्डको आ.व. २०८१/८२ को तथ्याङ्क अनुसार नेपालमा कुल २०,६०२ हेक्टर जमिनमा चिया रोपण गरिएको छ भने अस अवधीमा २ करोड ६१ लाख केजी तयारी चिया उत्पादन भएको छ । नेपालमा १५,१३२ जना चिया कृषकहरू, १७० वटा टि स्टेट र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रहरूमार्फत करिब ६०,००० रोजगारी सिर्जना गरेको अनुमान गरिन्छ । त्यसैगरी, भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार यस आ.व. २०८१/८२ मा १ करोड ५६ लाख केजी चिया निर्यात गरेर नेपालले ४ अर्ब ५९ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ ।
विभिन्न चुनौतीहरूका बावजुत पनि चिया कृषक, मजदुर, सहकारी, उद्योगी/व्यवसायी, सरोकारवाला संघसंस्थाहरू एवं विशेष गरी निजी क्षेत्रको अथक प्रयासका कारण नै आज नेपाली चियाले विश्व बजारमा आफ्नो दरिलो उपस्थिति एवं पहिचान देखाउन सफल भएको छ । तर पछिल्ला दिनहरूमा बजारीकरणको पाटोमा नेपाली चिया क्षेत्रले केही चुनौतीहरूको सामना गर्नु परिरहेको छ । नेपालले गरेको चियाको कुल निर्यातमध्ये ८६ प्रतिशत निकासी भारतमा नै भएको हुँदा भारतिय बजार नेपाली चियाको सबैभन्दा ठूलो बजार रहेको कुरामा दुई मत छैन । तसर्थ, बजार विविधिकरणमा आवश्यक पहलकदमी अझ सघन रुपमा गर्न आवश्यक छ । त्यसैगरी नेपालमा खाद्य प्रविधि प्रयोगशालाको सबलिकरण गरी निर्यात प्रवर्द्धनमा सहयोग गर्न जरुरी छ ।
फाइन्द्र राज पाण्डे
कार्यकारी निर्देशक