वि.सं:
नेपाल संवत: ११४६ कछलागा पारु - १६
कृषि तथा पशुपन्छी विकास मन्त्रायलको संरक्षणमा रहेको राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड २०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत स्थापित बस्तुगत बोर्ड हो। चिया तथा कफी खेती र प्रशोधन गर्ने कार्यमा सामन्जस्य ल्याउन, आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको चिया तथा कफी उत्पादन गर्ने र बजार व्यवस्थापन तथा निकासी पैठारी गर्नका लागि ठोस नीति निर्माण गरी देशमा भएको चिया तथा कफी उद्योगको योजनाबद्ध रूपमा विकास गर्नु बोर्डको प्रमुख उद्देश्य हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ ले निम्नानुसार बोर्डको उद्देश्यहरू तोकेको छ ।
क) चिया तथा कफी उद्योगको विकासका लागि उत्पादन, प्रशोधन, बजार व्यवस्थापन तथा निकासी पैठारी सम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने ।
ख) चिया तथा कफी खेती वा उद्योगको विकासमा देखा परेका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाउने ।
ग) चिया तथा कफी उद्योगको विकासका लागि चिया तथा कफी खेती र प्रशोधन निम्ति आवश्यक पर्ने सामग्रीहरूको आपूर्तिको व्यवस्था गर्ने, गराउने ।
घ) चिया तथा कफी उद्योगको विकासका लागि तालिम तथा अनुसन्धान केन्द्र स्थापना गरी चिया तथा कफी उद्योगमा कार्यरत व्यक्ति वा संस्थाहरूलाई आधुनिक प्राविधिक ज्ञान, प्रशिक्षण र प्राविधिक सहयोग उपलब्ध गराउने ।
ङ) चिया तथा कफी उद्योगको विकाासका लागि आवश्यक अध्ययन गर्ने, गराउने ।
च) चिया तथा कफी उद्योगको क्षेत्रमा कार्यरत संस्थाहरूसँग समन्वय गर्ने ।
छ) चिया तथा कफी उद्योगलाई सहयोग पुर्याउने ।
१. चिया तथा कफी उत्पादन एवम् प्रवर्धनसँग सम्बन्धित आवश्यक सबै नीतिहरूको तर्जुमा
२. सम्भावित ठाउँमा चिया तथा कफी खेतीको सम्भाव्यता अध्ययन
३. चिया तथा कफी उद्योगका कृषकहरूलाई सेवा
४. चिया तथा कफी प्राविधिकहरूको क्षमता अभिवृद्धि
५. राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तहमा बजारको सर्वेक्षण
६. चिया तथा कफीको गुणस्तर व्यवस्थापन
७. नेपाली चिया र कफीको ब्राण्ड विकास तथा बजारीकरण
८. चिया तथा कफी खेतीको विस्तार ।
१. नेपाल सरकारले राष्ट्रिय चिया नीति २०५७ र राष्ट्रिय कफी नीति २०६० स्वीकृत गरी लागु गरेको छ ।
२. नेपाल सरकारले बैशाख १५ लाई राष्ट्रिय चिया दिवस र मङ्सिर १ लाई राष्ट्रिय कफी दिवसको रूपमा घोषणा गरेको छ र सोही अनुरूप हरेक वर्ष मनाइँदै आएको छ।
३. नेपाली चिया र कफीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने उद्देश्यले नेपाली चिया र कफीको छुट्टाछुट्टै राष्ट्रिय प्रतिकचिन्हको विकास गरी कार्यान्वयन गरेको छ ।
४. नेपाली चियाको प्रतिकचिन्हलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउन हुलाक टिकट पनि प्रकाशित गरिएको छ ।
५. "एसियामा चिया" भन्ने मूल नाराका साथ २०५६ असोज २० गते काठमाडौंमा चौथो अन्तर्राष्ट्रिय एसियाली चिया सम्मेलनको सफल आयोजना गरिएको थियो ।सम्मेलनमा श्रीलङ्का, भारत, बङ्गलादेश, थाइल्याण्ड, जापान र रूसका प्रतिनिधिहरूले भाग लिएका थिए ।
६. नेपाली चियालाई युरोपेली बजारमा चिनाउने उद्देश्यले २०५९ श्रावण ५ गतेदेखि १० गतेसम्म नेपाल चिया महोत्सव लण्डन २००२ को सफल आयोजना गरिएको थियो ।
७. नेपाल २०६४मा अन्तर्राष्ट्रिय चिया समिति International Tea Committee (ITC) को सदस्य बनेको थियो भने अन्तर्राष्ट्रिय कफी सङ्घ International Coffee Organization (ICO) को पनि सदस्य २०७४ सालमा लिएको छ ।
८. "Discovering hidden treasure ..." भन्ने मुल नाराका साथ २०७४ चैत्र २३-२५ सम्म तेश्रो अन्तर्राष्ट्रिय चिया महोत्सव अायोजना गरिएको थियो । सगरमाथाको स्याङ्बोचे क्षेत्रमा गरिएको चियापान समारोह प्रमुख अाकर्षण रहेको महोत्सवमा १३ मुलुकका अन्तर्राष्ट्रिय चिया जगतका विशिष्ट पाहुनाहरूले सहभागिता जनाएका थिए ।